पूर्वराजा शाहलाई वामदेवको सुझावः संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास गर्नुस्
काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित नहुने बताएका हुन् । उनले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन सुझाव दिए ।
निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि कायम गर्न आग्रह गरे ।”राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरु हुन् । राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरुले स्वीकारेकै थिए । राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित हुँदैन,” उनले भने ।
उनले राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति भएको र राजा वीरेन्द्रको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरु भएको आरोप लगाए ।








