मुस्लिम बालबालिकाको शिक्षा र सामाजिक सुधारमा समुदायको सक्रियता आवश्यक छ: मुख्यमन्त्री आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायका धेरै बालबालिका अझै पनि विद्यालय बाहिर रहेको भन्दै अनिवार्य विद्यालय शिक्षामा सहभागी गराउनु पर्ने आवश्यकता औंल्याएका छन् ।
मायादेवी गाउँपालिका-१, पकडी, कपिलवस्तुमा आयोजित अल-मरकजुल इस्लामी वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालय बाहिर रहेका मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन समुदायका अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताएका हुन् ।
“धेरै बालबालिका अझै पनि विद्यालय शिक्षाबाट बञ्चित छन् । विशेष गरी छोरीहरूको विद्यालय जाने दर न्यून छ। छोराछोरीलाई समान अवसर र शिक्षा दिनुपर्छ,”उनले भने । मुख्यमन्त्री आचार्यले उमेर नपुगी हुने विवाहको समस्या गम्भीर रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले मुस्लिम समुदायभित्र रहेका सामाजिक समस्याहरू समाधान गर्न समुदायका अगुवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए।”मौलाना साथीहरूले समुदायमा सचेतना फैलाउनु आवश्यक छ। समाज परिवर्तनका लागि तपाईंहरूको योगदान जरुरी छ,” उनले भने ।
मुख्यमन्त्री आचार्यले पुरानो सोच परित्याग गरी नयाँ विचार र दृष्टिकोणका साथ अघि बढ्न आह्वान गरे । “परम्परादेखि चल्दै आएका केही विकृति युक्त प्रथाहरूलाई निरुत्साहित गर्न जरुरी छ,"उनले भने,"
हामी सबैको भावना एउटै हो, हामी देशप्रेमी हौं । यो मुलुक निर्माण गर्ने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ । समाजमा रहेका अन्धविश्वास र कुरीतिको अन्त्य गर्न जरुरी छ, र त्यसका लागि समुदायका अगुवा तपाईंहरू अघि बढ्नुपर्छ ।”
कार्यक्रमका क्रममा मुख्यमन्त्री आचार्यले मदरसा शिक्षाको विकासका लागि प्रदेश सरकारले निरन्तर सहयोग गरिरहेको स्पष्ट पारे । प्रदेश सरकार मुस्लिम समुदायको शैक्षिक तथा सामाजिक विकासमा प्रतिबद्ध रहेको र यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइरहेको उनले उल्लेख गरे ।