श्रमजीवि पत्रकार सम्बन्धी ऐन परिमार्जन गर्ने सञ्चारमन्त्री गुरुङको प्रतिवद्धता
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘श्रमजीवि पत्रकार सम्बन्धी ऐन, २०५१ समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमवार न्युनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले ऐन संशोधन गर्न अझै केही समय लाग्ने उल्लेख गर्दै विद्यमान ऐन कार्यान्वयन गर्नुपर्ने समेत बताएका हुन् । उनले ठूला प्रकाशन गृहको कारण ऐन कार्यान्वयनमा समस्या भएको बताए ।उनले ऐन कार्यान्वयमा देखिएका समस्याहरुको समाधान गर्दै सुधार गर्न समेत जरुरी रहेको बताए ।
उनले बन्न बाँकी ऐन र कानूनहरू फास्ट ट्र्याकबाट बनाउने दलहरुबीच सहमति भएको बताए । उनले लामो समयदेखि थन्किएर बसेका विधेयकहरुलाई कानूनको रुप दिन लागि परेको समेत बताए । उनले सञ्चार क्षेत्रको सुधारका लागि आवश्यक काम गर्ने मन्त्रालय तयार रहेको बताए । सञ्चार कर्ममा रहेका पत्रकारहरुले समेत मर्यादित भएर काम गर्नुपर्नेमा उनको जोड छ ।








