माओवादी सांसद पौडेलको प्रश्नः उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका हुन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको बताएका हुन् । उनले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे भन्दै प्रश्न गरे ।
“काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै उर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यु ? दुधकोशी जलविद्यतुको सिईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? पत्र सार्वजनिक भएको छ । मन्त्रीको आलोचना गरेको कारणले । विद्युत नियमन आयोगले महशुल नतिर्नेहरुको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ? मैले पत्रिकामा पढेअनुसार महशुल नतिर्नेहरुको लाइन नकाट्न भनेर निर्देशन गरिएको छ,” उनले भने ।
उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गरे ।








