सीमा अपराध न्युनिकरण गर्न सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन गर्न लागिएको होः गृहमन्त्री लेखक
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सेवालाई जवाफदेही एवं प्रभावकारी बनाउँदै मुलुकमा शान्ती सुव्यवस्था, सीमा सुरक्षा र सिमा अपराधलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्न लागिएको बताएकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विधेयकमाथि सांसदरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रस्तुत विधेयकमा सशस्त्र प्रहरी ऐन, २०५८ तथा सशस्त्र प्रहरी नियमावली, २०७२ का प्रावधानहरूलाई धेरै हदसम्म मिलाइएको दाबी गरे ।
मन्त्री लेखकले विधेयकमा सशस्त्र प्रहरी बल नेपाललाई आवश्यक पर्ने हातहतियार तथा खरखजना नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गरिएको स्पष्ट पारे । उनले विधेयकमा संविधानले परिकल्पना गरेबमोजिम राज्यको सुरक्षा अंगलाई समावेशी र राष्ट्रिय स्वरुपको बनाइएको दाबी गरे । विधेयकमा कार्यकुशलता, कार्यक्षमता, ज्येष्ठता, उत्तरदायित्व वहन गर्नसक्ने क्षमताको आधारमा प्रहरी महानिरीक्षकको नियुक्ति गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
विधेयकमाथि सोमवार ५१ जना सांसदहरुले धारणा राखेका छन् । अधिकांश सांसदहरूले सशस्त्र प्रहरीको संचालन प्रमुख जिल्ला अधिकारीलाई दिनु नहुने धारणा राखेका छन् । नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश स्पष्ट हुनुपर्ने उनीहरूकाे भनाइ छ ।








