पूर्वराजा शाहले प्रजातन्त्रप्रति बिष वमन गरेःसांसद गैरे

काठमाडाैँ । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति बिषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरूकाे अपमान गरेको समेत आरोप लगाएका हुन् । उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिर समेत गरे । उनले शाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्रको समाप्त भएको बताए ।
“फागुन ७ गते पूर्वराजाले नेपालका शहीदहरु, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने शहीदहरुप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति बिष वमन गर्ने कोशिस गरे । जननेता मदन भण्डारीले २०४६ सालको परिवर्तनलगत्तै २०४८ सालको निर्वाचनको ताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि जननेता मदन भण्डारीले भन्नुभएको थियो– महाराज हात नलम्काईबक्सियोस् । आँखा नझिम्काईबक्सियोस् । संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन् । तर, संविधान उल्लंघनको कोशिस भयो,” उनले भने ।
उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्न समेत शाहलाई आग्रह गरे ।