२६ असार २०८२, बिहिबार

स्याङ्जामा पिकअप भ्यान दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

प्रकाशित मिति :  26 February, 2025 11:29 am


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बुटवलबाट पोखरा जाँदै गरेको लु.३ च. ३३२४ नम्बरको पिकअप भ्यान आज राति करिब १ः१० बजे सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुर्घटनामा परी पाल्पा, रम्भा गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय चालक मित्रलाल अर्याल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि गल्याङ नगर अस्पताल पुर्‍याइए पनि राति २ः५० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

त्यस्तै, २३ वर्षीय सहचालक राधेश्याम बस्याल घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !