विद्यालय सुधारमा प्रदेश सरकार प्रतिबद्ध छ-मुख्यमन्त्री आचार्य

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयको हरेक क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
रामनगर जेसीजद्वारा आयोजित लुम्बिनी प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला २०८१ को उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाको प्रवद्र्धन सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।
उनका अनुसार, ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत् सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने योजनासहित सरकार अघि बढिरहेको छ । उनले गतवर्षको एसईईको कमजोर नतिजालाई सुधार गर्ने लक्ष्य राखिएको बताउँदै, विद्यालय सुधारका लागि सामुदायिक सहभागिता अपरिहार्य रहेकोमा जोड दिए।
पूर्व विद्यार्थीको योगदानले विद्यालयलाई सशक्त बनाउने
मुख्यमन्त्री आचार्यले पूर्व विद्यार्थीहरूलाई विद्यालय सुधार अभियानमा जोड्दै आर्थिक, प्राविधिक तथा सीप हस्तान्तरणका माध्यमबाट विद्यालयलाई सहयोग गर्न प्रेरित गरिएको बताए । उनले भने, “अभियानले सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसले विद्यालय सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
विद्यालय सुधारका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायको सहकार्य आवश्यक रहेको बताउँदै उनले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सरकारले ठोस कार्यक्रम अघि सारेको स्पष्ट पारे ।
युवाहरूलाई समाज परिवर्तनको अभियानमा गोलबन्द गर्दै
मुख्यमन्त्री आचार्यले १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई संगठित गर्दै समाज परिवर्तनका अभियानहरू अघि बढाइएको जानकारी दिए । उनले युवाहरूलाई सकारात्मक सोच विकास गरी सामाजिक कार्यमा सक्रिय हुन आह्वान गर्दै भने, “जेसीजजस्ता संस्थाले समाजसँग जोडिएका गतिविधि सञ्चालन गर्दै आएका छन्, जसले युवालाई सकारात्मक दिशामा लैजान मद्दत गर्नेछ ।”
उक्त उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेतलगायतको विशेष उपस्थिति रहेको थियो ।
रामनगर जेसीज सन २०२५ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न शैक्षिक तथा सांस्कृतिक प्रस्तुतीकरणहरू पनि प्रस्तुत गरिएका थिए ।