खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छुः खानेपानीमन्त्री यादव

काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् ।
बिहीवार काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताएका हुन् । घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाए ।
उनले जायज कामहरूका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताए । पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए ।
कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिए । उनले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए।
खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरू ल्याउनुपर्ने बताए । “खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? धेरै जसो शाखाहरू घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ,”उनले भने ।