जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भन्योः हालसम्म मानवीय क्षति छैन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर २ स्थित भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २ः५१ बजे ६.१ रेक्टर स्केलको भूकम्प गएको थियाे । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाभर भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्पको धक्काका कारण अधिकांश स्थानका बासिन्दा रातभर घर बाहिर निस्कन बाध्य भएका थिए। भूकम्पको असर कारागारमा समेत परेको छ, जहाँ एक जना कैदी दौडने क्रममा लड्दा दाहिने हातमा सामान्य चोट लागेको छ। उनलाई चौतारा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
भूकम्पपछि भोटेकोशी गाउँपालिका वडा नम्बर ३ तुसारे क्षेत्रमा सुख्खा पहिरो गएको छ। सो क्षेत्रमा मानव बस्ती नभएकाले हालसम्म कुनै मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै, भोटेकोशी गाउँपालिका–स्थित इलाका प्रहरी कार्यालय कोदारीको एकतले जस्ताको छानो भएको प्रहरी व्यारेक भवनमा सामान्य क्षति पुगेको छ।
जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी निरन्तर अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन्। स्थानीयबासीलाई भूकम्पका कारण पहिरो तथा सडकमा ढुंगा खस्ने जस्ता जोखिम हुन सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ। कुनै पनि आपतकालीन सूचना भएमा सुरक्षाकर्मी वा प्रशासनलाई खबर गर्न आग्रह गरिएको छ।
