१२ चैत्र २०८१, बुधबार

प्रधानमन्त्री ओली संविधान मिच्ने र विधि मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छः अध्यक्ष नेपाल

प्रकाशित मिति :  28 February, 2025 5:50 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानून र विधिसँग कुनै मतलव नभएको आरोप लगाएका हुन् । उनले संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको बताए ।

उनले विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको जिकिर गरे । उनले संसदीय समितिमा विचाराधिन विधेयक फिर्ता समेत नलिई सरकारले अध्यादेश ल्याउन नपाउने बताए । संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लङ्घन गरेको आरोप समेत लगाए । उनले संसदको अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरू सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने बताए ।

उनले भूमिसम्न्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरुलाई पोस्नको लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए । उनले वर्तमान सरकासँग देश विकासको लागि कुनै खाका नरहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !