पाथीभरा केबलकार विवाद : सरकार वार्ता र संवादमार्फत् समाधान खोज्दै छ–गृहमन्त्री लेखक
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न सरकार वार्ता र संवादको बाटो अपनाइरहेको बताएका छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनरत पक्षसँग पटक-पटक संवाद गरिरहेको जानकारी दिए ।
उनका अनुसार केबलकार निर्माणका क्रममा उठेका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका विषयमा सरकारले गम्भीर चासो राखेको छ र समाधानका लागि प्रतिबद्ध छ ।
गृहमन्त्री लेखकले भने, “ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले सक्रिय पहल गरिरहेको छ । सरकार वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्दै छ। यही उद्देश्यले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको थियो, जसले आन्दोलनरत पक्षसँग सहजीकरण गर्दै पटक-पटक संवाद गरिसकेको छ ।”
तर, पछिल्लो समय वार्तामा केही अवरोध देखिएको उल्लेख गर्दै गृहमन्त्रीले फागुन १२ गते आन्दोलनरत पक्षलाई पुनः वार्तामा सहभागी हुन आह्वान गरिएको जानकारी दिए ।
उनले सरकार सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका चासोलाई सम्बोधन गर्न पूर्णतः प्रतिबद्ध रहेको दोहोराउँदै पाथीभरा क्षेत्रमा शान्ति सुरक्षाका लागि सुरक्षा निकायले उच्च संयमता अपनाइरहेको दाबी गरे।








