निजामति विधेयकबारे लोकसेवा आयोगसँग संसदीय उपसमितिको छलफल

काठमाडाैँ । संघीय निजामति विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभाअन्तर्गतको संसदीय उपसमितिले लोकसेवा आयोगसँग छलफल गरेको छ ।
आइतवार उपसमितिले लोकसेवा आयोगका पदाधिकारीहरुसँग छलफल गरेको हो । उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसमितिका संयोजक एवं नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामति सेवा ऐनको तयारीमा आफूहरु लागिरहेको र संघीय निजामति सेवा ऐनको गठन, सञ्चालन, सेवा र शर्तका सम्बन्धमा प्रस्तावित विधेयकमा धेरै छलफल भइसकेको बताए । मुलुकमा संघीयता लागू भइसकेपछि विधेयकलाई अझै अगाडि ल्याउनुपर्नेमा नसकिरहेको अवस्था रहेको बताए ।
अहिले आएको विधेयक धेरै पक्षलाई समेटेर आएको उल्लेख गर्दै यसलाई टुंग्याउन केही विवादित विषयहरु देखिन थालेपछि आन्तरिक गृहकार्य गरेको बताए। विधेयकमा केही नीतिगत विषयहरुमा स्पष्ट हुनसके विधेयकको दफामा धेरै समय छलफल गरिरहन नपर्ने उल्लेख गरे । १४ वटा विषयहरु सहमतिका लागि तयार पारेको उल्लेख गरे । संघीय निजामति सेवा समेत तहगत प्रणालीमा लैजाने भन्ने सांसदहरूबिचको छलफल भएको र प्रस्तावहरू दुवै किसिमले आएको बताए ।