एमालले केन्द्रिय पदाधिकारीको संख्या ९ मा सिमित गर्ने

काठमाडाैँ । नेकपा एमालेले केन्द्रिय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सिमित गर्ने भएको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले केन्द्रिय पदाधिकारीको संख्या घटाएर ९ मा सिमित गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरुलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने बताए।
अब संगठनहरू केन्द्रिय कमिटी र केन्द्रिय सचिवालय मात्रै रहने पनि निर्णय गरेको छ । स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताए । नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरू पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरु र दलका नेताहरु र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरु रहेको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ । उनले पाथीभरा केबलकार विवादबारे स्थानीय, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर टुंग्याउँदै समस्या समाधान गरेर केबलकार निर्माणको प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने बारेमा पार्टीले भुमिका खेल्ने बताए ।