अपराध अनुसन्धान प्रविधिमैत्री बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको धारणा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी को उद्घाटन गर्दै उनले अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने आवश्यकतामा विशेष ध्यान दिनुपर्ने बताए।
मुख्यमन्त्री आचार्यले अपराध अनुसन्धानको प्राथमिकता स्पष्ट गर्दै भने, “नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल छ, तर प्रविधिको प्रयोग अझै प्रभावकारी बनाउन आवश्यक छ।” उनले अनुसन्धान प्रक्रियालाई परिष्कृत गर्दै साइबर अपराधलगायतका नयाँ चुनौतीहरूसँग जुध्न डिजिटल प्रविधिको उच्चतम उपयोग गर्नुपर्ने उल्लेख गरे।
खुला सीमाका कारण सुरक्षा चुनौती
लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सीमाना जोडिएको हुँदा सीमा सुरक्षामा थप चुनौती रहेको मुख्यमन्त्रीको भनाइ छ। अपराधीहरूको आवतजावत नियन्त्रण, लागुऔषध ओसारपसार, साइबर अपराध र सीमा दुरुपयोग रोक्न विशेष रणनीति आवश्यक रहेको उनले बताए।
खुला सीमाका कारण नेपाली किसान प्रभावित भएको उल्लेख गर्दै उनले कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तुको अनियन्त्रित आयात रोक्न प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनु पर्नेमा जोड दिए।
अनुसन्धान सुदृढीकरणमा विशेष छलफल
गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारी, अपराध अनुसन्धान विशेषज्ञ, तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधिको आधुनिक उपयोग, तथा सुरक्षा रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ। उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, प्रहरी अतिरिक्त महानिरीक्षक कुबेरसिंह कडायत तथा लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीको विशेष उपस्थिति थियो ।