एमालेले जनवर्गीय संगठनका पदाधिकारी संख्या घटाउँदै : ९ जनामा सीमित गर्ने निर्णय
काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना जनवर्गीय संगठनहरूको केन्द्रीय पदाधिकारी संख्या घटाएर ९ जनामा सीमित गर्ने निर्णय गरेको छ। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय लिएको हो।
यसअघि जनवर्गीय संगठनहरूमा १७ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था थियो । तर, अब संरचनालाई प्रभावकारी बनाउँदै पदाधिकारी संख्या घटाउने निर्णय गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
नयाँ संरचना : ९ सदस्यीय पदाधिकारी समिति
नयाँ व्यवस्थाअनुसार एमालेका जनवर्गीय संगठनमा निम्न पदाधिकारी रहनेछन् :
अध्यक्ष – १ जना
उपाध्यक्ष – २ जना (एक जना अनिवार्य रूपमा महिला)
महासचिव – १ जना
उपमहासचिव – १ जना
सचिवहरू – ३ जना (प्रचार, विदेश मामिला, संगठन)
कोषाध्यक्ष – १ जना (आर्थिक जिम्मेवारी)
केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने
महासचिव पोखरेलका अनुसार अब जनवर्गीय संगठनहरूमा केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहने व्यवस्था गरिएको छ। संगठनहरूलाई व्यावहारिक र परिणाममुखी बनाउन यो निर्णय गरिएको उनले बताए ।
एमालेको निर्णयसँगै पार्टी निकट संगठनहरूको संरचनामा व्यापक पुनर्गठन हुन लागेको छ। पार्टीले प्रभावकारी कार्यसम्पादन र व्यवस्थापनका लागि यो कदम चालेको बताइएको छ।








