स्याङ्जा भीरकोट ८ मा जन्मदर्ता गरिएका शिशुको खातामा ५ हजार जम्मा गरिने

स्याङ्जा। स्याङ्जाकाे भीरकोट नगरपालिका-८ ले पहिलो पटक जन्मदर्ता गराउने शिशुका लागि आर्थिक सहयोगसहित विशेष प्याकेजको व्यवस्था गरेको छ। नवजात शिशुको खातामा ५ हजार रूपैँया जम्मा गरिने, सुत्केरी आमालाई रातो भाले तथा १.५ केजी घिउ (साकाहारीका लागि मात्र) प्रदान गरिने, साथै शिशुलाई न्यानो भोटो उपलब्ध गराउने निर्णय भएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष नन्दु प्रसाद खनालका अनुसार, यो योजना स्थानीय सरकारको सामाजिक सुरक्षासँग सम्बन्धित पहल हो। उनले भने,”शिशु जन्मेदेखि नै आर्थिक सहयोग प्राप्त होस्, मातृत्व सुरक्षित होस् र न्यानो कपडाले नवजात शिशुलाई संरक्षण होस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम सुरू गरेका हौँ।”
शिशुको खातामा जम्मा भएको रकम बच्चाको उमेर १८ वर्ष पूरा भएपछि मात्र अभिभावकले परिवारले निकाल्न पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
उनका अनुसार यस योजनाले नवजात शिशु तथा आमाको सुरक्षामा टेवा पुर्याउनुका साथै स्थानीय स्तरमा जन्मदर्ता दर्ता गराउने प्रवृत्तिलाई प्रवर्द्धन गर्नेछ।