१० चैत्र २०८१, सोमबार

नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अग्रसर गराउन अपरिहार्य-उपराष्ट्रपति यादव

प्रकाशित मिति :  3 March, 2025 6:09 pm


काठमाडौँ । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशलाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रतर्फ अघि बढाउन सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालले आफ्ना बहुआयामिक विकास लक्ष्य प्राप्त गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले नेपालले सबै मित्रराष्ट्रहरूसँग सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध कायम राख्दै आपसी सहयोग र सहकार्यमार्फत् आर्थिक विकास, समृद्धि तथा सामाजिक प्रगतिमा केन्द्रित हुनुपर्ने बताए ।

जलवायु परिवर्तन, महामारीको प्रभाव र आर्थिक सुस्तताले विश्व समृद्धिमा चुनौती थपेको उल्लेख गर्दै उनले नेपालसहित अन्तर्राष्ट्रिय समुदायले साझा रणनीति अपनाएर यी समस्यासँग जुध्नुपर्ने धारणा राखे ।

उपराष्ट्रपति यादवले नेपालको संविधानको निर्देशक सिद्धान्त अन्तर्गत धारा ५१ को (ड) मा उल्लेखित परराष्ट्र नीतिको महत्त्वलाई स्मरण गर्दै नेपालले सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितलाई जोगाउँदै स्वतन्त्र परराष्ट्र नीति अपनाउनुपर्नेमा जोड दिए ।

उनले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन तथा विश्व शान्तिका मान्यताका आधारमा नेपालले आफ्ना कूटनीतिक सम्बन्धहरूलाई थप मजबुत बनाउनुपर्ने बताए ।

नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्द्धन गर्दै आर्थिक विकासका लागि आवश्यक सहयोग प्राप्त गर्न विकास साझेदार राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ मजबुत बनाउन सुशासन, मानव अधिकार प्रवर्द्धन र पारदर्शिता सुनिश्चित गर्नु आवश्यक रहेको उपराष्ट्रपति यादवले उल्लेख गरे।

उनले भने, “नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रतर्फ अघि बढाउन सबैको योगदान अनिवार्य छ। यस सन्दर्भमा नेपाल विश्व सम्बन्ध परिषद्को भूमिका झन् महत्वपूर्ण बन्न सक्छ ।”

उनले राष्ट्रिय समृद्धिको लक्ष्य प्राप्त गर्न प्रत्येक नागरिक, नीति निर्माता र सम्बद्ध निकायहरूको इमानदारीपूर्ण योगदान अपरिहार्य रहेको बताउँदै नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा विशेष जोड दिए ।

नेपालको आर्थिक समृद्धि, आत्मनिर्भरताको लक्ष्य प्राप्ति, तथा स्वाधीन नीति निर्माणका लागि साझा प्रतिबद्धता र ठोस कार्यान्वयन आवश्यक रहेको उपराष्ट्रपति यादवको भनाइ थियो ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य र समझदारी बढाउँदै नेपाललाई सशक्त, सम्पन्न र स्वाधीन राष्ट्र बनाउने मार्गमा सबै पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !