३ चैत्र २०८१, सोमबार

सामुदायिक वन महासंघको आन्दोलन स्थगित

प्रकाशित मिति :  3 March, 2025 9:20 pm


लक्ष्मी पाेखरेल,
दाङ ।
लुम्बिनी प्रदेश सरकारले उच्च स्तरीय वार्ता समिति गठन गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले कर खारेजीको मागसहित जारी आन्दोलन तत्कालका लागि स्थगित गरेको छ।

फागुन १८ गतेदेखि सुरु भएको आन्दोलनको पहिलो दिनमै प्रदेश सरकारले कृषि, वन तथा वातावरण समिति सभापति विश्वप्रेम पाठकको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो। वार्ता समितिले महासंघलाई लिखित रूपमा पत्र पठाएपछि महासंघले आन्दोलन रोक्ने निर्णय लिएको हो।

महासंघले राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै वार्ताका लागि तयार रहेको जनाएको छ। महासंघका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा भएको सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष मोहम्मदकर खाँ प्रमुख अतिथि रहेका थिए।

प्रदेश सरकारले आर्थिक विधेयकमार्फत सामुदायिक वन उपभोक्ता समूहलाई आन्तरिक खपतमा १०% र बाह्य विक्रीमा २५% सेवा शुल्क लगाउने निर्णय गरेको थियो। महासंघले यस प्रावधान खारेजीको माग गर्दै आन्दोलन थालेको हो।

सत्ता पक्षले वार्ता पहल गरेपछि आन्दोलन स्थगित गरिएको भए पनि महासंघले कर खारेज नभएसम्म आन्दोलन पुनः चर्काउने चेतावनी दिएको छ।



प्रतिक्रिया दिनुहोस !