आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयको मार्गदर्शन जारी

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि अर्थ मन्त्रालयले मार्गदर्शन जारी गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम तयार पारिएको यो मार्गदर्शन बजेट तर्जुमा गर्ने सबै मन्त्रालयहरूका लागि लागू हुनेछ।
अर्थ सचिव घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा बजेटलाई यथार्थपरक, कार्यान्वयनयोग्य, र नतिजामुखी बनाउन निर्देशन दिइएको छ।
मन्त्रालयहरूले आगामी चैत्र १५ गतेभित्र मन्त्रालयगत बजेट सूचना प्रणालीमा बजेट प्रस्ताव प्रविष्ट गर्नुपर्नेछ। स्रोत व्यवस्थापनमा चुनौती रहेकाले प्राथमिकता निर्धारणमा गम्भीरता अपनाउन अर्थ मन्त्रालयले निर्देशन दिएको छ।
मार्गदर्शनमा चालु खर्चमा मितव्ययिता अपनाउन, अनिवार्य दायित्वका खर्चका लागि पर्याप्त बजेट छुट्याउन, र स-साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न भनिएको छ।
साथै, नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा लागत-लाभ विश्लेषण पूरा भएका तथा पूर्वतयारी भइसकेका गुणस्तरीय योजनाहरू मात्र समावेश गर्नुपर्नेछ।
राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा प्रविष्ट भएका आयोजना मात्र बजेट प्रस्तावमा समावेश गर्नुपर्ने र दोहोरोपना हटाउन अन्तर-मन्त्रालयीय समन्वय आवश्यक पर्ने मार्गदर्शनमा उल्लेख छ।
विपद् जोखिम न्यूनीकरण तथा पुनःनिर्माण कार्यलाई बजेटमा प्राथमिकता दिन समेत अर्थ मन्त्रालयले निर्देशन दिएको छ।