१० चैत्र २०८१, सोमबार

ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा रहेको छ- सिंखडा

प्रकाशित मिति :  4 March, 2025 9:39 am


काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा रहेको बताएका छन् ।

सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई ज्ञापन पत्र बुझाउने क्रममा अध्यक्ष सिंखडाले नेपालका श्रमिकहरूकै मुद्दा ओझेलमा परिरहेको बताए ।

बैंक तथा वित्तीय क्षेत्रमा श्रमिकहरूले आन्दोलन गर्न नपाउने फैसलालाई लिएर उनले चिन्ता व्यक्त गर्दै श्रमिकहरू सचेत हुनुपर्नेमा जोड दिए ।

उनले भने, “नेपालमा ट्रेड युनियन आन्दोलन र श्रमिकहरूको मुद्दा ओझेलमा परेको छ । बैंक तथा वित्तीय क्षेत्रमा आन्दोलन गर्न नपाउने निर्णय गम्भीर रूपमा हेरिनुपर्छ । भोलि टेलिकम, विद्युत, होटल-पर्यटन, पेट्रोल-ग्यासलगायत क्षेत्रमा पनि यस्तो निर्णय लागू हुने हो भने ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा अगाडि बढेको छ ।”

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सरकारले ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउन खोजिरहेको आरोप लगाए। अत्यावश्यक सेवा कानुनको नाममा श्रमिक आन्दोलन रोक्ने सरकारी नीतिले दक्ष जनशक्ति पाउन कठिन भइरहेको उनले बताए ।

श्रेष्ठले भने, “२५ वर्ष लामो संघर्षपछि श्रमिकहरूले प्राप्त गरेको १० प्रतिशत सुविधा अदालतको निर्णयबाट कटौती गरिएको छ। यसका कारण दक्ष श्रमिकहरू विदेशिन बाध्य भएका छन्। २७ वटा पाँचतारे होटल थपिएका छन्, तर दक्ष जनशक्ति पाउन मुश्किल भइरहेको छ ।” कार्यक्रममा सहभागीहरूले दक्ष श्रमिकहरूको विदेश पलायन रोक्न सरकारले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस !