नियमावलीको दुरुपयोग रोक्न जरुरी छ-मन्त्री पृथ्वीसुब्बा गुरुङ

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीहरू अवसरवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित भएको बताएका छन्।
मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले मन्त्रीपिच्छे आफू अनुकूलको नियमावली बनाउने प्रवृत्तिले कानून कार्यान्वयनमा समस्या उत्पन्न गरिरहेको बताए ।
उनले नीति तथा कानूनलाई समयानुकूल परिवर्तन गर्न ढिलाइ हुनु, नियमावलीको प्रभावकारी कार्यान्वयन नहुनु र मन्त्रालयमा नियमावलीको दुरुपयोग हुनु गम्भीर समस्या बनेको धारणा राखे ।
उनले भने, ‘हाम्रो प्रशासनमा कमजोरी भएकै छ। यसलाई राम्ररी सञ्चालन गर्न आवश्यक छ। प्रविधिको क्षेत्रमा आज बनेको ऐन एक वर्षभित्र परिवर्तन गर्नुपर्छ। तर हामी नीति अपडेट गर्नेतर्फ ध्यान दिंदैनौं, बरु आफूअनुकूल नियमावली बनाएर चलाउने प्रवृत्ति हावी भएको छ। अब यस प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’
दूरसञ्चार प्राधिकरणलाई खर्च सुधार गर्न निर्देशन
मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पुँजीगत खर्च न्यून रहेको भन्दै खर्च बढाउन निर्देशन दिए। साथै, प्राधिकरणको प्रशासनिक कमजोरी धेरै रहेको उल्लेख गर्दै सुधारका लागि ठोस कदम चाल्न सुझाव दिए।
उनले भने, ‘प्राधिकरणको प्रभावकारिता बढाउन खर्चको सदुपयोग र प्रशासनिक सुधार आवश्यक छ। हामी मन्त्रालयबाट आवश्यक सहयोग गर्न तयार छौं।’
नियमावलीको दुरुपयोग रोक्ने सरकारी प्रयास
मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्मा नियमावली तथा विनियमावलीको दुरुपयोग रोक्न पटक–पटक छलफल भएको छ । उनले नीतिगत अनिश्चितता हटाई कानूनी प्रक्रिया सरल, पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनको भनाइ अनुसार, ‘नियमावलीको राज अन्त्य गरेर कानूनी व्यवस्थालाई स्पष्ट पार्नु आजको आवश्यकता हो। मन्त्रालयहरूले प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्छ।’
मन्त्री गुरुङले नीतिगत अन्योल हटाई कानूनलाई समयानुकूल अद्यावधिक गर्न र नियमावलीको दुरुपयोग अन्त्य गर्न आवश्यक रहेको बताए । साथै, नेपाल दूरसञ्चार प्राधिकरणको खर्च र प्रशासनिक कार्यसम्पादन सुधार्न निर्देशन दिए । उनका अनुसार, नीति अद्यावधिक गर्ने र प्रशासनलाई सक्षम बनाउने सरकारको प्राथमिकता रहेको छ ।