सभामुख घिमिरेले भनेः शहीदका अधुरा सपना पूरा गर्नुपर्नेछ

काठमाडाैँ । सभामुख देवराज घिमिरेले शहीदहरूको अधुरो सपना पूरा गर्नुपर्ने चुनौति रहेको बताएका छन् । बुधवार काठमाडौँमा सुखानी आन्दोलनका शहीदहरूको तस्बिर अंकित हुलाक टिकटहरूकाे प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भएपनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतिहरू देखिएको बताए । शहीदहरूको बलिदानलाई खेर जान दिनु नहुने बताए । शहीदहरूको अधुरो सपना साकार पार्न अहिलेका पिंढीले काम गर्नुपर्ने बताए ।
“राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त ग¥यो । शहीदहरुको बलिदानले त्यो प्राप्त ग¥यो । तर यसले दिनुपर्ने अन्य समाजलाई सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि जाने, प्रतिष्पर्धा लैजाने लगायतका धेरै कुराहरुमा चुनौतिहरु देखा परिरहेका छन् । शहीदहरुको अधुरो सपना साकार गर्ने यो पिंढीले कामहरु गर्न सकोस्,”उनले भने ।
सुखानी आन्दोलनका शहीदहरू स्व. रामनाथ दाहाल, स्व. नेत्र घिमिरे, स्व.वीरेन राजवंशी, स्व.कृष्ण कुईंकेल, स्व. नारायणप्रसाद श्रेष्ठ, नारदमुनि थुलुङ र चिनियाँलाल सिंहको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो ।