विदेशी लगानीसँगै विदेशी सेना आउँछ भनेर शंका नगरौँ-अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी लगानी भित्र्याउँदा विदेशी सेना आउँछ भन्ने आशंका नगर्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो स्पष्ट पारेका हुन् ।
उनका अनुसार, राष्ट्रिय आवश्यकताका आधारमा विदेशी लगानी भित्र्याएर रोजगारी सिर्जना गरिनेछ। देशको कानुनी व्यवस्थाअनुसार नै विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति रहेको उनले बताए ।
सरकारको नीति र प्राथमिकता
अर्थमन्त्री पौडेलले सरकारको मूल लक्ष्य देशभित्र विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्नु रहेको उल्लेख गरे । उनले भने, “विदेशी लगानी हाम्रा राष्ट्रिय हितलाई केन्द्रमा राखेर, हाम्रा आवश्यकता र प्राथमिकताका आधारमा भित्र्याइने हो । यसले रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, प्रविधि हस्तान्तरण गर्ने, र देशलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन मद्दत गर्नेछ ।”
उनले विदेशी लगानीसँगै विदेशी सेना आउने भन्ने आशंकाको कुनै आधार नरहेको बताउँदै कानूनी दायराभित्र रहेर विदेशी लगानी भित्र्याउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।
निजी क्षेत्र र युवा उद्यमीको स्वागत
अर्थमन्त्री पौडेलले सरकारले ल्याएको विधेयकलाई निजी क्षेत्रका छाता संगठन तथा युवा उद्यमीहरूले सकारात्मक रूपमा स्वागत गरेको जानकारी गराए । यसले नेपालको लगानी वातावरणलाई सहज बनाउन र व्यवसाय प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।








