संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
प्रकाशित मिति : 6 March, 2025 9:12 am
काठमाडाैँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्नेछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ, जसमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नेछन्।
यसै बैठकमा निम्न अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन्:
- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१
- निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
- आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
- सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१








