१० चैत्र २०८१, सोमबार

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेश गर्छौं- सभापति सिंह

प्रकाशित मिति :  6 March, 2025 1:46 pm


काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्र सदनमा पेश गरिने जानकारी दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले विधेयकमा मोटामोटी सहमति भइसकेको भए पनि केही विषयहरूमा थप छलफल आवश्यक रहेको बताएका हुन् ।

उनका अनुसार बाँकी विषयमा सहमति जुटाएर विधेयकलाई छिटोभन्दा छिटो अघि बढाउने तयारी भइरहेको छ। सभापति सिंहले उर्जा विधेयकलाई समेत शेयरधनी नेपालीहरूको हक र हितलाई ध्यानमा राखी ल्याइने प्रतिबद्धता जनाए । उनले हालका शासकहरूले पानीको महत्व नबुझेका कारण मानव निर्मित ताल तथा तलैया सुक्दै गएकाे बताउँदै, यस्ता जलस्रोतहरूको संरक्षण र उपयोगमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, “जलस्रोत विधेयक र उर्जा विधेयक पूर्वाधार विकास समितिमा आएका छन्। पहिला उर्जा विधेयक आयो, त्यसपछि जलस्रोत विधेयक आयो। जलस्रोत विधेयकमा केही बुँदाहरूमा सहमति जुट्न बाँकी छ। विज्ञहरूसँग गहिरो छलफल गरेर, राष्ट्रहित र जनहितलाई ध्यानमा राख्दै विधेयकलाई अघि बढाइनेछ। अब जलस्रोत विधेयक सदनमा पेश गर्न दुई हप्ता पनि लाग्दैन।”

उनले भने कि उपत्यकामा रहेका मानव निर्मित जलाशयहरू विगतमा रोजगारी सिर्जना गर्ने र सुख्खायाममा पानीको स्रोतका रूपमा प्रयोग गर्न सकिने भए पनि हाल ती संरचनाहरू विनाश हुँदै गएका छन् ।

त्यस्तै, सभापति सिंहले वन विनाशसँगै जलस्रोतहरू पनि सुक्दै गएकाले वन जोगाउन सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !