१२ चैत्र २०८१, बुधबार

विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्-वामदेव गौतम

प्रकाशित मिति :  7 March, 2025 5:02 pm


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले ख्याल नगरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो आरोप लगाएका हुन् । उनले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताए । उनले नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गरे ।

उनले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजार्रौ सर्वसाधारण प्रभावित हुने गरेको बताए ।

उनले भने, ‘‘नेपाल भूकम्पको केन्द्र भागमा रहेको छ । नेपालमा हरेक २४ घण्टामा कुनै न कुनै भूकम्पीय धक्का प्रकट हुने गरेको छ । उपरोक्त अवस्थालाई खास गरी विकास र निर्माणको कामलाई अगाडि बढाउँदा नेपालले कुनै प्रकारको नजरअन्दाज गर्न मिल्दैन । तर नेपालको यो भूगर्भिक संवेदनशिलतालाई आज र अगाडिका कुनैपनि शासकले ख्याल गरेनन्, वास्ता गरेनन् । नेपालका उत्तर दक्षिण र पूर्व–पश्चिममा जाने सडकहरु नदी किनारको भूभागमा बनाइएको छ । यसरी सडक बनाउँदा निरन्तर भूकम्पीय धक्काले जम्न नपाएको माटो र गिट्टी सहितको पहाडका पाखोलाई काटिएका छन् । भूकम्पीय धक्काले यस्ता ठाउँमा पहिरो जान्छ ।’‘

उनले नेपालमा दैनिक कुनै न कुनै प्रकारका भूकम्प जाने गरेको भन्दै विकास निर्माणका काममा संवेशनशिल भएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !