राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत

तुलबहादुर कवँर मगर
दाङ । दाङको राप्ती गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकलाई भव्य स्वागत गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमालासहित स्वागत गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।

स्वागत कार्यक्रममा अध्यक्ष विष्टले पाठकलाई कार्य सम्पादन पत्र प्रदान गर्दै, पाठकको आगमनले गाउँपालिकाको सेवा प्रवाह, सुशासन, र समग्र विकासलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।
“आवश्यकताका आधारमा निर्णय लिने, स्रोत साधनको अधिकतम उपयोग गर्ने र सुशासनलाई सुदृढ बनाउने कार्यमा पूर्ण प्रतिबद्धता आवश्यक छ। तपाईंकै नेतृत्वमा राप्ती गाउँपालिकाले उत्कृष्टता हासिल गर्नेछ भन्ने अपेक्षा राख्छु,” अध्यक्ष विष्टले भने ।
नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरूलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष विष्टले समन्वयात्मक कार्यशैलीलाई प्रवर्द्धन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत पाठकको अनुभव, कार्यक्षमता, र नेतृत्व क्षमताले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत पाठकले गाउँपालिकाको समृद्धि र विकासका लागि सबै पक्षसँग आवश्यक सहयोग र समन्वय गर्दै निष्पक्षता, इमानदारिता र मिहिनेतका साथ अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका नेव बहादुर वली उपसचिव पदमा बढुवा भई बाँसगढी नगरपालिकामा सरुवा भएपछि पाठक प्यूठानको सरुमारानी गाउँपालिकाबाट सरुवा भई राप्ती गाउँपालिकामा कार्यभार सम्हाल्न आएका हुन्।