१२ चैत्र २०८१, बुधबार

महिला, बालबालिका र हिंसासम्बन्धि प्रश्नको जवाफ दिन राष्ट्रिय सभाद्वारा सरकारलाई रुलिङ

प्रकाशित मिति :  9 March, 2025 3:59 pm


काठमाडाैँ । राष्ट्रिय सभाले महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारलगायतका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेको छ।

सभाको तर्फबाट आईतवारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शून्य र विशेष समयमा सांसदहरूले सभाको बैठकमा उठाएका समसामयिक विषयहरूको बारेमा जवाफ दिन नेपाल सरकारलाई निर्देशन दिनुभएको हो ।

यसमा महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयहरू, साथै शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन र सेवा प्रवाहका विषयसमेत समेटिएका छन्।

अध्यक्ष दाहालले भने, “११५औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा, शून्य समय र विशेष समयमा मान्य सदस्यहरूले उठाउनुभएको विषयहरू, जस्तै महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका मुद्दाहरूमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै, राष्ट्रिय सभाको नियमावलीले तोकेको समयावधि भित्र जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्दछु।”

बैठकमा विभिन्न समसामयिक समस्याहरूलाई प्रमुख ध्यानमा राख्दै सरकारलाई उत्तरदायी बनाउन जोड दिइएको छ। राष्ट्रिय सभाको अर्को बैठक चैत्र ४ गते, सोमवार, सवा १ बजे बस्नेगरी स्थगित गरिएको छ।



प्रतिक्रिया दिनुहोस !