१० चैत्र २०८१, सोमबार

राजावादी पक्ष कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता भयोः सांसद राई

प्रकाशित मिति :  9 March, 2025 4:12 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरु कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद राईले प्रतिगामी तत्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताएकी हुन् । उनले उहाँ मुलुकभर अनावश्यक नाराहरु गुञ्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताए ।

“यतिबेला फेरि प्रतिगामी तत्वहरु कुर्लिंदैछन् । र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन् । हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धीहरु फेरि खोस्न चाहादैछन् । आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् । आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरु दिनदिनै कमजोर बन्दै गइरहेका छन् । हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ,”उनले भनिन् ।

उनले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको उल्लेख गरिन् ।



प्रतिक्रिया दिनुहोस !