१२ चैत्र २०८१, बुधबार

सोच परिवर्तन बिना समृद्ध नेपाल सम्भव छैन- उपाध्यक्ष शाक्य

प्रकाशित मिति :  9 March, 2025 4:38 pm


काठमाडाैँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोचमा परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छिन्।

आइतबमर पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले अनेमसंघ केन्द्रीय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको “जलवायु परिवर्तन, महिला अवसर र सम्भावना” विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमानमा सामन्ती अवशेषहरूको अस्तित्व रहेको भन्दै यसलाई अन्त्य गर्न वैचारिक संघर्षको आवश्यकता औंल्याएकी हुन् ।

उनले भनिन्, “हामीले सोचमा रुपान्तरित नभएसम्म समानतायुक्त र समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ ।” शाक्यले पितृसत्ता र सामन्ती अवशेषहरूको अन्त्य गर्नका लागि विचारधारामा संघर्ष आवश्यक रहेको बताइन् ।

जलवायु परिवर्तनको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै, उहाँले जलवायु परिवर्तनलाई राजनीतिक मुद्दा बनाउनु पर्नेमा जोड दिइन् । उनले थपिन्, “नेपाल जलवायु परिवर्तनबाट पीडित छ, र यस विषयमा गहिरो छलफल गर्नुपर्ने आवश्यकता छ। सबै राजनीतिक दलहरूले जलवायु परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्छ ।”

शाक्यले संविधानमार्फत सुशासन र समृद्ध नेपाल बनाउनको लागि आफ्नो पार्टीको एजेण्डा आर्थिक, सामाजिक, र सांस्कृतिक सुधारमा केन्द्रित रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !