सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यक छः महामन्त्री थापा

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा आईतवार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा उनले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रमशक्ति रहेको बताएका हुन् । उनले नेपालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको बताए ।
उनले विदेशमा बिनासिपको श्रमशक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको दाबी गरे । नेपालमा युवा जनशक्तिलाई सीप प्रदान गर्नुपर्ने वा सीप अनुसारको रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए । “नेपालमा हाइड्रो पावर निर्माण भइरहेको छ जसबाट रोजगारी सिर्जना भएको छ तर नेपालीले काम पाइरहेका छैनन् । नेपालीले काम पाएन भनि रहेका छौँ तर किन काम पाएन भन्नेकुरा यस्तो छ । चिनियाँको तुलनामा ४५ प्रतिशत, भारतको हिसावमा ८१ प्रतिशत उत्पादनको अवस्था देखिन्छ । किन यस्तो भयो होला त ? श्रम बजारमा भएको हाम्रो जनशक्तिमध्ये अधिकांश तह एकको छ,” उनले भने ।
महामन्त्री थापाले देशमा ठूलो जनसंख्या रोजगारबाट विमुख भएको तथा रोजगार पाएकाले पनि कम पारिश्रमिक पाएका कारण विदेश जान बाध्य भएको बताए । सुनका गहना बनाउने लगायत कतिपय रोजगारमा नेपाली युवाको अरुचिका कारण अधिकांश कामदार विदेशबाट आउने गरेको उनको भनाइ छ ।