भूकम्प नेपालको विकास निर्माणका लागि चुनौतीपूर्ण- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विकास निर्माण प्रक्रियामा भूकम्प एक गम्भीर चुनौती बनेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले हिमालय पर्वत श्रृंखलामा पटक–पटक गइरहने भूकम्पले पूर्वाधार विकास र समग्र राष्ट्रिय प्रगतिमा गम्भीर अवरोध खडा गरेको उल्लेख गरे।
राष्ट्रपतिका अनुसार, केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्न सक्ने प्रविधिहरू विकास भए तापनि, भूकम्पको सटीक भविष्यवाणी गर्ने कुनै प्रभावकारी संयन्त्र आजसम्म निर्माण हुन सकेकाे छ। यो अवस्थाले नेपाललाई निरन्तर जोखिमपूर्ण परिस्थितिमा राखेको छ।
जलवायु परिवर्तनको प्रभाव र नेपाल
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको प्रभाव नेपाल जस्ता विकासशील देशहरूमा झन् गहिरो रूपमा परेको उल्लेख गरे। उनले विकसित मुलुकहरूमा भइरहेको औद्योगिकीकरण, जीवाश्म इन्धनको अत्यधिक प्रयोग तथा कार्बन उत्सर्जनले पृथ्वीको तापमान वृद्धि गरिरहेको बताए ।
“नेपाल कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने मुलुक हो, तर हामी जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेपिरहेका छौं,” राष्ट्रपति पौडेलले भने ।
उनका अनुसार, पछिल्ला तीन दशकमा नेपालको हिमनदीहरूमा रहेको हिउँ एक तिहाइ घटिसकेको छ, जसले हिमतालहरू विस्फोटनको संघारमा पुर्याएको छ। यसले जल प्रकोप, पहिरो, भूक्षय तथा प्राकृतिक विपत्तिहरूलाई अझै भयावह बनाइरहेको छ।
जलवायु न्यायको आवश्यकतामा जोड
राष्ट्रपति पौडेलले नेपाल जस्ता मुलुकहरूले जलवायु परिवर्तनको प्रत्यक्ष असर बेहोरिरहे पनि यसको कारक भने नभएको स्पष्ट पार्दै ‘जलवायु न्याय’ सुनिश्चित गर्न अन्तर्राष्ट्रिय जगतमा आवाज उठाउनुपर्नेमा जोड दिए।
“जलवायु परिवर्तनले सिर्जना गरेका समस्या समाधानका लागि नेपाल जस्ता राष्ट्रहरूलाई विश्व समुदायले न्यायोचित सहयोग पुर्याउनुपर्छ,” उनले भने।
राष्ट्रपति पौडेलले नेपालका वैज्ञानिक तथा वातावरणविद्हरूलाई जलवायु परिवर्तनका मुद्दाहरू विश्वभर फैलाउन आग्रह गर्दै जलवायु न्यायलाई प्रमुख एजेन्डाका रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याए ।