१४ पुस २०८२, सोमबार

सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाविरोधी अभियान चलाइयो-माओवादी केन्द्र

प्रकाशित मिति :  10 March, 2025 1:34 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीयता मन नपराउने शक्तिहरूले सरकारको कुशासनको फाइदा उठाउँदै व्यवस्थाविरोधी अभियान सञ्चालन गरिरहेको आरोप लगाएको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आइतबार प्रदर्शन गरिएको भीडप्रति लक्षित गर्दै उक्त निष्कर्ष निकालेको हो ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारका कमजोरीहरूको फाइदा उठाउँदै केही तत्वहरूले संघीयता र गणतन्त्रविरोधी गतिविधि तीव्र पारेको टिप्पणी गरे ।

साथै, बैठकमा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन, र स्ववियु निर्वाचनबारे छलफल भएको जानकारी दिए ।

तराई–मधेस अभियान प्रभावकारी भएको माओवादीको दाबी
प्रवक्ता सापकोटाले तराई–मधेस अभियान झापा देखि रौतहटसम्म सञ्चालन हुँदा जनतामा नयाँ जागरण पैदा भएको दाबी गरे । उनले पछिल्ला वर्षहरूमा जनताप्रति बेवास्ता गरिएको स्वीकार गर्दै पार्टीले सुधारको प्रतिबद्धता जनाएको र सोही कारण आमजनता पुनः माओवादीप्रति आकर्षित र आशावादी बनेको दाबी गरे ।

उनका अनुसार, माओवादी केन्द्रले सदन र सडक दुवै स्थानमा प्रभावकारी भूमिका निर्वाह गर्दै जनअपेक्षा पूरा गर्ने निर्णय गरेको छ। उनले भने, “अभियानले बहुआयामिक सन्देश दिएको छ। जहाँ गयौँ, त्यहाँ अमिट छाप छोडेका छौँ। जनताको विश्वास जित्न हामी निरन्तर क्रियाशील रहनेछौँ ।”

सरकार असफल भएको माओवादीको निष्कर्ष
बैठकमा समसामयिक राष्ट्रिय राजनीति पनि मुख्य छलफलको विषय बन्यो । प्रवक्ता सापकोटाका अनुसार, सरकार हाल सबैखाले काममा असफल देखिएको माओवादी केन्द्रको निष्कर्ष छ ।

उनले प्रतिगामी शक्तिहरू सल्बलाए पनि नेपाली जनता लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै लोकतन्त्रलाई अझ विकसित र सुदृढ बनाउनु आवश्यक रहेको धारणा राखे । माओवादी केन्द्रले संघीय लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन आवश्यक रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस !