प्रतिनिधिसभा बैठक आज बस्दै : ११ महत्वपूर्ण विधेयक पारित हुने तयारी

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा देशको आर्थिक, सहकारी, सुरक्षा तथा विधायी व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने तथा छलफल गर्ने कार्यसूची तय गरिएको छ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले “आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” संसद्मा पेश गर्ने कार्यसूची छ। सो विधेयकले देशको लगानीमैत्री वातावरण सृजना गर्दै आर्थिक सुधारको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी ले “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” पेश गर्ने कार्यक्रम रहेको छ। सहकारी क्षेत्र सुधारका लागि ल्याइएको उक्त विधेयकमाथि गहिरो छलफल हुने अनुमान गरिएको छ। यसै सन्दर्भमा, सो विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल र मीना तामाङ द्वारा विरोधको सूचना दर्ता गरिएको छ, जसले बैठकलाई थप चर्को बहसतर्फ धकेल्न सक्छ।
साथै, गृहमन्त्री रमेश लेखक ले “सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन्। यस विधेयकले सशस्त्र प्रहरी बलको कार्यक्षमता वृद्धि गर्दै सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
संसद् सचिवालयका अनुसार, यी महत्वपूर्ण विधेयकहरूबाहेक अन्य समसामयिक विषयहरूमा पनि छलफल हुने सम्भावना रहेको छ। प्रतिनिधिसभाको आजको बैठक नीतिगत तथा विधायी दृष्टिकोणबाट महत्त्वपूर्ण रहने देखिन्छ।
