रोल्पामा अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच स्ववियु निर्वाचनमा तालमेल हुने

काठमाडौँ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राेल्पा जिल्लामा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बिच तालमेल हुने भएकाे छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनहरूले संयुक्त ढंगले चुनाव लड्ने सहमति गरेका हुन् ।
यस संयुक्त सहमति अनुसार दुबै संगठनले रोल्पा जिल्लाका विभिन्न क्याम्पसहरूमा तालमेल गरि बामपन्थी विचारधारामा आधारित उम्मेदवारहरूको प्यानल बनाउने निर्णय गरेका छन्। दुबै संगठनले क्याम्पसहरूमा सहकार्य गरि विजय प्राप्त गर्नको लागि बामपन्थी विद्यार्थी संगठनलाई एकताबद्ध भएर अघि बढ्ने बताएका छन्।
जसमा नव नेपाल क्याम्पसमा अनेरास्ववियु अध्यक्ष र सह-सचिव सहित २ सदस्य उम्मेदवार दिनेछ भने अखिल (क्रान्तिकारी) उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ४ सदस्य उम्मेदवार दिनेछ। जलजला क्याम्पसमा पनि यस्तै तालमेल गरिएको छ जहाँ अनेरास्ववियु उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहित सदस्य चयन गर्नेछ भने अखिल (क्रान्तिकारी) अध्यक्ष र सह-सचिव सहित सदस्य चयन गर्नेछ।
रोल्पा नमुना क्याम्पसमा एक प्रत्यक्ष सदस्य बाहेक सबै उम्मेदवार अखिल (क्रान्तिकारी) का रहनेछन् भने शहिद स्मृती क्याम्पसमा अखिल (क्रान्तिकारी) लाई सहयोग गर्ने निर्णय गरिएको छ। अनेरास्ववियु रोल्पा अध्यक्ष सूर्य विक र अखिल (क्रान्तिकारी)का अध्यक्ष सनिदेवल बुढा मगरले संयुक्त रूपमा यस सहकार्यलाई सफल बनाउन सबै विद्यार्थीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।