मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुन्- मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार एक सन्देश जारी गर्दै उनले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली) पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने विश्वास मुख्यमन्त्री आचार्यले व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेश सरकार मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण, प्रवर्द्धन र विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रदेशको विविध सांस्कृतिक सम्पदा र मौलिक पहिचानलाई समृद्ध लुम्बिनी प्रदेशका आधारका रूपमा परिभाषित गरेका छन् । यस्ता मौलिक सम्पदाको जगेर्ना गर्न आवश्यक रहेकोमा पनि उनले विशेष जोड दिएका छन् ।
पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसंगति प्रवेश हुन नदिन आग्रह गर्दै मुख्यमन्त्री आचार्यले सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली मनाउन अपिल गरेका छन् ।
होली पर्वले सम्पूर्ण नेपालीलाई नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह हुने गरी होली मनाउन अनुरोध गरेका छन् ।