संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत् आज दुवै सदनको बैठक बस्ने तय भएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यसूची छ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, सोही विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गरिनेछ । त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि छलफल तथा पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्नेछिन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गर्ने तथा पारित गर्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ । संघीय संसदका दुवै सदनमा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने भएकाले आजको बैठकलाई अर्थपूर्ण मानिएको छ।