कानून कार्यान्वयन गर्न चाहिने कार्यविधि, नियमावली समयमै बनाउन अध्यक्ष ढकालकाे आग्रह

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कानूनहरुमा सुधार गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न खोज्नु आवश्यक रहेको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारले कानून संशोधन गरेर लगानीको वातावरण सिर्जना गरेको बताउँदै अब कार्यविधिहरू ल्याउन ढिला गर्न नहुने बताएका हुन्।
उनले निजी क्षेत्रले राखेका मागहरू कानून संशोधन गरेर सरकारले सम्बोधन गरेकोमा धन्यवाद दिए । उनले सरकारले कानून परिवर्तन गरेर आन्तरिक र वाह्य लगानीको वातावरण सिर्जना गरेको बताए । निजी क्षेत्र र सरकारबिच एक अर्काबिच दोषारोपण गर्ने परिपाटी हुन नहुने बताउँदै उनले निजी क्षेत्र र सरकारबिच सहकार्य गरेर अघि बढ्नु जरुरीमा जोड दिए ।
“हामीले राखेका धेरै मागहरू सरकारले कानून संशोधन गरेर सम्बोधन गरेको छ । कानून परिवर्तन गरेर आन्तरीक, बाह्य लगानीको वातावरण सिर्जना गर्ने काम सरकारले गरेको छ । यो माग धेरै पहिलादेखि निजी क्षेत्रले गरेको थियो । कानून अनुसार बन्ने कार्यविधि र नियमावली समयमै बन्यो भने छोटो समयमा नीजि क्षेत्रले धेरै काम गर्न सक्छौं भन्ने निजी क्षेत्रको विश्वास समेत रहेको छ,” उनले भने ।