नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी

काठमाडाैँ। नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताएका हुन्। राजाहरूले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । उनले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको बताए ।
उनले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गरे । उनले जनताले कुनैपनि प्रणालीको राजतन्त्र नचाएको भन्दै राजतन्त्र पुनःस्थापित नहुने जिकिर गरे ।
“हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले संघीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका छौँ । नेपालमा हामीले थरीथरीका राजतन्त्र हेरिसकेका छौँ । पृथ्वीनारायण शाहको राजतन्त्रको मोडल पनि हेरोका छौँ, त्रिभुवन राजाको मोडल पनि हेरोका छौँ । बालक ज्ञानेन्द्रको राजतन्त्रको मोडल पनि हेरेका छौँ । त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल पनि हेरोका छौँ । राजतन्त्रको दुष्परिणाम त हेरिसकेका छौँ । राजनीतिको उन्नत प्रणाली गणतन्त्र ल्याएको छौँ,” उनले भने ।
सांसद निधीले संविधान संशोधन गरी प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तत्काल संघीय कानून निर्माण गर्नुपर्ने उनको भनाइ छ ।