६ बैशाख २०८२, शनिबार

बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरू, २२ जना सहभागी

प्रकाशित मिति :  19 March, 2025 6:29 pm


काठमाडाैँ । ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरू भएको छ। बुधबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र नेपालस्थित चिनियाँ दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा तालिमको उद्घाटन गरे।

चैत २० गतेसम्म चल्ने तालिममा गोदावरी नगरपालिकाका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थी सहभागी छन्। वडा नम्बर ४ मा बसोबास गर्ने पहरी र नगरकोटी समुदायका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइएको छ, जसले परम्परागत रूपमा बाँसका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका छन्। उनीहरूको सीपलाई थप व्यवसायिक बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिम सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सञ्चालन भइरहेको छ भने चीनको सिजाङ ९तिब्बत०मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंस्थित नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन्। स्थानीय साझेदारका रूपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् भने ग्रीन ब्याम्बो क्रियशनले प्राविधिक सहयोग प्रदान गरेको छ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले तालिमले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको आम्दानीको स्रोत नै बाँस भएकाले तालिमले उनीहरूलाई अझ राम्रो उत्पादन र बजारिकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। महर्जनले प्रशिक्षार्थीहरूलाई गम्भीरताका साथ तालिम लिई बाँसका सामग्रीको उत्पादन र बजारीकरणमा ध्यान दिन आग्रह गरे।

सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले बाँसका सामग्रीको बजार नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि रहेको बताए। व्यवसायिक रूपमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको उनले जानकारी दिए।

गुडविल फाउण्डेसन तिब्बतका अध्यक्ष मा जेजियानले बाँसको चोयाबाट विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइने जानकारी दिँदै नेपाल र चीनबीच सीप आदान–प्रदानको अवसरका रूपमा तालिमलाई हेरिएको उल्लेख गरे। उनले प्लास्टिकको विकल्पका रूपमा बाँसका उत्पादनलाई प्रवर्द्धन गर्दै हरित विकासलाई प्रोत्साहित गर्ने लक्ष्य रहेको बताए।

गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष राजन महर्जनले यो कार्यक्रम नेपाल र चीनबीच जनस्तरको सम्बन्धलाई सुदृढ बनाउने कोशेढुंगा हुने विश्वास व्यक्त गरे। वडा नम्बर ४ का वडाध्यक्ष सानुभाई नगरकोटीले बाँसका सामग्री उत्पादनलाई उद्यमशीलता र व्यापारसँग जोडेर अगाडि बढ्नुपर्ने धारणा राखे।

तालिमका प्रशिक्षकका रूपमा चीनको सिचुआन प्रान्तस्थित मेइशान सहरका उद्योगी तथा वरिष्ठ कालिगढ लि यिनहाई र सुआई यानपिङ सहभागी छन्। उनीहरूले प्रशिक्षार्थीहरूलाई लालटिनलगायत विभिन्न सामग्री निर्माण गर्ने प्रविधि सिकाउने छन्।

नेपालमा ६३ हजार हेक्टर क्षेत्रफलमा ५० भन्दा बढी प्रजातिका बाँस पाइन्छन्। बाँसको व्यवसायिकरणका लागि नेपालमा विभिन्न प्रयासहरू भइरहेका छन्। हालै फागुन १५ देखि १७ गतेसम्म खोटाङको दिक्तेलमा पहिलो राष्ट्रिय बाँस सम्मेलन सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस !