आजको मौसम : कोशी र मधेसमा हावाहुरीको सम्भावना
काठमाडौँ । हाल देशभर पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा आंशिक बदली रहेको छ भने अन्य भू-भागमा मौसम सामान्य रूपमा सफा रहेको छ ।
दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशका अधिकांश भू-भागमा मौसम सफा रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ ।
अपराह्नतिर कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
हावाहुरीका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।








