१ श्रावण २०८२, बिहिबार

बटेश्वर गाउँपालिकामा भ्रष्टाचार आरोप: पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

प्रकाशित मिति :  25 March, 2025 5:00 pm


काठमाडाैँ । जिल्ला धनुषाको बटेश्वर गाउँपालिकामा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार सावन कुमार चौधरी, लेखा हेर्ने छैठौं तहका अधिकृत सुमन कुमार पुरी, र जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृज कुमार यादवले मिलेमतो गरी सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेका थिए।

अनुसन्धानका क्रममा उनीहरूले आ.व. २०७६\०७७ मा बिभिन्न वडाहरूमा स्वास्थ्य केन्द्र तथा डिप बोरिङ निर्माणका लागि आवश्यक बोलपत्र सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उक्त प्रक्रिया नअपनाई केवल गाउँपालिकाको अभिलेखका लागि मात्र जनकपुर टुडे राष्ट्रिय दैनिकमा सूचना छपाई झुट्टा विवरण पेश गरेको पाइएको छ।

यस प्रकरणमा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.लाई झुट्टा विवरणका आधारमा रु. ६ लाख ४४ हजार १०० भुक्तानी दिइएको पुष्टि भएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आरोपितहरूमाथि कानुनी कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको हो।



प्रतिक्रिया दिनुहोस !