६ बैशाख २०८२, शनिबार

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको लुम्बिनी प्रदेश च्याप्टर गठन

प्रकाशित मिति :  27 March, 2025 7:46 am


दाङ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले च्याप्टरको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा नेपाल उद्योग परिसंघको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले यस क्षेत्रको प्रवर्द्धनमा अझ बढी भूमिका खेल्ने अपेक्षा राखेको बताए ।

उनले वर्तमान प्रतिस्पर्धात्मक युगमा समयको गतिलाई बुझी अगाडि बढ्नुपर्नेमा जोड दिँदै युवा उद्यमीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न आग्रह गरे ।

अर्थमन्त्री पौडेलले सरकार औसत काम गरेर बस्न नसक्ने बताउँदै कानुनी सुधार तथा नीतिगत परिवर्तनमार्फत व्यवसायिक वातावरण सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राखी सुधारको कामलाई निरन्तरता दिने आश्वासन दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरूलाई उद्यमशील बनाउन नीतिगत सहजीकरण र प्रोत्साहन आवश्यक रहेकोमा जोड दिए ।

उनले रोजगारीको अवसर सृजना गर्दै औद्योगीकरणलाई प्रवर्द्धन गर्नका लागि युवा उद्यमीहरूको महत्वपूर्ण भूमिका रहेको औंल्याउँदै सरकारलाई युवा लक्षित कार्यक्रम ल्याउन आग्रह गरे ।

“विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्न चाहने युवाहरूको संख्या उल्लेखनीय छ। उनीहरूलाई स्वदेशमै उद्यमशील बनाउनु आवश्यक छ,” उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्टार्टअप नीति निर्माण तथा कानुन संशोधनमा परिसंघ र युवा उद्यमी मञ्चको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले प्रविधिको प्रयोग बढाउँदै कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायन रोक्न स्वदेशमै उद्यमशील वातावरण निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले औद्योगिक क्षेत्र ओरालो लाग्नु र व्यवसायीहरू पलायन हुनु गम्भीर चुनौती भएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औंल्याए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकासले समग्र राष्ट्रको समृद्धिमा योगदान गर्ने बताउँदै उद्यमशीलता प्रवर्द्धन गर्न नीतिगत सहायताको खाँचो रहेको बताए ।

उनले युवा उद्यमी मञ्चमार्फत नयाँ अवसरहरू खोज्ने, नवाचार प्रवर्द्धन गर्ने र आर्थिक विकासमा योगदान पुर्याउने संकल्प व्यक्त गरे ।

लुम्बिनी प्रदेश च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही विश्व दृष्टिकोणका साथ राष्ट्र निर्माणमा समर्पित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, मञ्चको बोर्डमा विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च नेपाल उद्योग परिसंघअन्तर्गत सन् २००५ मा स्थापना भएको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !