प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ, अर्को कोही राजा चाहिँदैनः सांसद थापा

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा र रानीको आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।
बिहीवार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो टिप्पणी गरेका हुन् । जनचाहानाअनुसार नेतृत्व परिवर्तन गर्न पाउने अधिकार आम नागरिकलाई भएको कारण व्यवस्था परिवर्तनको आवश्यकता नरहेको उनकाे भनाइ छ ।
उनले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षाअनुसार काम गर्न नसके जनताले स्वीकार नगर्ने भन्दै सबैले जनहितमा काम गर्न जरुरी रहेको बताए । एकथरी पार्टीहरु मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै उनले काम गर्न कुनै वर्ष कुर्न नपर्ने बताए।
मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै उहाँले संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गरे ।