रूपन्देहीमा प्रहरी नायब निरीक्षक घुस रकमसहित पक्राउ
दाङ । रूपन्देहीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयका अनुसार हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कालाई बिहीबार दिउँसो रु ३० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।
कार्यालय प्रमुख बिनिता भट्टराईका अनुसार, प्रहरी नायब निरीक्षक खड्का भन्सार छली तथा चोरी तस्करीमा सहजीकरण गरिदिने भन्दै घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई रूपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६, मकरीचोकबाट पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेका खड्काविरुद्ध घुस प्रकरणमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको अख्तियार बुटवल कार्यालयले जानकारी दिएको छ ।








