६ बैशाख २०८२, शनिबार

एमालेद्वारा पूर्वराजावादी अराजकताविरुद्ध कडा आपत्ति, कारबाहीको माग

प्रकाशित मिति :  28 March, 2025 8:20 pm


काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौंका विभिन्न स्थानमा पूर्वराजावादी समूहले मच्चाएको अराजक गतिविधिको कडा भर्त्सना गर्दै दोषीहरूमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखिएको हिंसा, तोडफोड, आगजनी, र लुटपाटलाई अराजक र आपराधिक भन्दै खेद प्रकट गरेका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि ‘शान्तिपूर्ण प्रदर्शन’ को नाममा पूर्वराजावादी समूहले सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय तथा सरकारी संरचनामाथि आगजनी र लुटपाट गर्ने जस्ता गतिविधि गम्भीर आपत्तिजनक छन् ।

‘‘जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने, लोकतान्त्रिक प्रणालीलाई बिथोल्ने, र देशलाई अराजकतातिर धकेल्ने कार्य पूर्ण रूपमा अस्वीकार्य छ,’‘ विज्ञप्तिमा भनिएको छ।

लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान
एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रको पक्षमा एकजुट हुन आह्वान गरेको छ ।

‘‘पश्चगमनका दुष्प्रयासहरूलाई परास्त गर्न सम्पूर्ण लोकतन्त्रप्रेमी शक्ति गोलबन्द हुनुपर्छ,’‘ विज्ञप्तिमा उल्लेख गरिएको छ। एमालेले सरकारसँग शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न तथा हिंसात्मक घटनामा संलग्न आपराधिक तत्वहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।

‘‘शान्ति सुरक्षा प्रत्याभूत गर्न तथा यस्ता अराजक गतिविधि दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्छ,‘’ विज्ञप्तिमा उल्लेख छ । एमालेको विज्ञप्तिपछि मुलुकभर लोकतन्त्रको रक्षा र शान्ति सुरक्षाका विषयमा चर्को बहस सुरु भएको छ।



प्रतिक्रिया दिनुहोस !