६ असार २०८२, शुक्रबार

महिला सहभागिता सुदृढीकरणका लागि त्रिभुवननगर जेसीजको पहल

प्रकाशित मिति :  29 March, 2025 7:37 am


दाङ । स्थानीय सरकारमा महिलाहरूको सहभागिता, कानुनी व्यवस्था र व्यवहारिक चुनौतीहरूबारे केन्द्रित एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

त्रिभुवननगर जेसीजको आयोजनामा सम्पन्न गोष्ठीमा महिलाहरूको नेतृत्व सुनिश्चितता, कानुनी पक्षको प्रभावकारी कार्यान्वयन र व्यवहारमा भोग्नुपर्ने चुनौतीहरूबारे छलफल भएकाे छ ।

त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत (अनन्त) को अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य माननीय लोकाकुमारी विककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरुले स्थानीय तहमा महिलामैत्री कानुनकाे आवश्यकता रहेकाे बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बिकले कानुनी रूपमा महिलाको सहभागिता सुनिश्चित भए पनि व्यावहारिक रूपमा अझै चुनौतीहरू रहेको औंल्याउँदै नीति निर्माणदेखि कार्यान्वयनसम्म महिला नेतृत्वलाई सशक्त बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप–संयोजक चेतना चौधरीले कानुनी व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने आवश्यकता उल्लेख गरिन् । साथै, सामाजिक तथा सांस्कृतिक संरचनाका कारण महिला नेतृत्वलाई अप्ठ्यारो पार्ने प्रवृत्ति हटाउनुपर्नेमा उनले जोड दिइन् ।

अधिकारकर्मी शुष्मा लामिछानेले कार्यपत्र प्रस्तुत गर्दै कानुनी रूपमा महिलालाई प्राप्त अधिकार र व्यावहारिक कठिनाइबारे चर्चा गरेकी थिइन् ।

उनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिला प्रतिनिधिहरूको सक्रिय उपस्थिति आवश्यक रहेको बताइन् । प्रस्तुत कार्यपत्रमाथि महिला अधिकारकर्मी विमला योगी, पत्रकार रञ्जिता अधिकारी, अधिवक्ता विनु श्रेष्ठलगायतले आ–आफ्ना विचार राख्दै महिला नेतृत्वलाई सशक्त बनाउन तालिम, स्रोतसाधनको उपलब्धता र सहजीकरण आवश्यक रहेको औंल्याएका छन् ।

कार्यशालामा घोराही उपमहानगरपालिकाका उप–प्रमुख हुमा कुमारी डिसी, लमही नगरपालिकाका उप–प्रमुख लक्ष्मी योगी, बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जि.सी., शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीलगायत स्थानीय तहका महिला जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले नीति तथा कानुनी संरचनाहरूलाई अझ व्यवस्थित बनाउन र व्यवहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।

गोष्ठीमा दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, अध्यक्ष अनिता ढकाल, निवर्तमान अध्यक्ष जुनकुमारी बुढा, त्रिभुवननगर जेसीजका पूर्वअध्यक्षहरू निशान्त आचार्य, दीपक शर्मा, विवेक आचार्य, पत्रकार आरके शितल, गोविन्द खड्कालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष अनन्तले महिला सहभागिता कानुनी व्यवस्थामा मात्र सीमित नरही व्यवहारमा पनि लागू हुनुपर्नेमा जोड दिइन् । साथै, महिलाहरूले आफ्नो हक र अधिकारको रक्षा गर्न सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रम संयोजक श्यामकुमार गिरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव कृष्णदेव थापाले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !