तीनकुने घटनाकाे छानबिनको गर्न गृहमन्त्रालयलाई सरकारकाे निर्देशन
काठमाडौँ । सरकारले पूर्वराजाका समर्थकहरूले आयोजना गरेको प्रदर्शनको क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ।
शुक्रबार अबेर राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा भएका अमानवीय गतिविधिको घोर भर्त्सना गर्दै घटनामा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
बैठकले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। साथै, प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न र यस्ता घटनाहरू भविष्यमै हुन नदिन गृह मन्त्रालयलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् बैठकका निर्णयहरूको जानकारी दिँदै प्रदर्शनमा संलग्न समूहले निजी, सार्वजनिक तथा सरकारी सम्पत्तिहरूमा क्षति पुर्याएको, सवारीसाधन, राजनीतिक दलका कार्यालयहरू तथा सञ्चारगृहहरूमा आक्रमण, आगजनी, तोडफोड र लुटपाट गरेको भन्दै सरकारले उक्त घटनाको घोर निन्दा गरेको बताए ।
उनले भने, “पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुने क्षेत्रमा अराजक प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरे । घरभित्र मानिस भएको अवस्थामा ढुंगामुढा प्रहार गर्नु, आगजनी गर्नु, ज्यान जाने घटनासम्म निम्त्याउनु अमानवीय तथा गैरकानुनी कार्य हो । नेपाल सरकारले यस घटनाको कडा भर्त्सना गर्दै सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्ने निर्णय गरेको छ।”
सरकारले आम सर्वसाधारणलाई यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गर्दै आगामी दिनमा यस्ता हिंसात्मक घटना हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ।
मन्त्रीपरिषद् बैठकले म्यानमार र थाइल्यान्डमा गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपाल सरकारले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
राजावादी प्रदर्शन हिंसात्मक, समाजवादी मोर्चाको कार्यक्रम शान्तिपूर्ण
शुक्रबार काठमाडौँमा पूर्वराजाका समर्थक समूह (राजावादी) र समाजवादी मोर्चाले आ–आफ्ना कार्यक्रम आयोजना गरेका थिए तर राजावादी प्रदर्शन सुरू हुनासाथ ढुंगामुढा र अराजक गतिविधिमा परिणत भएपछि उनीहरूको औपचारिक कार्यक्रम नै सञ्चालन हुन सकेन ।
हिंसात्मक प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको ज्यान गएको छ भने ठूलो मात्रामा सार्वजनिक सम्पत्तिको क्षति पुगेको छ। समाजवादी मोर्चाले भने भृकुटीमण्डपमा शान्तिपूर्ण रूपमा आफ्नो कार्यक्रम सम्पन्न गरेको थियो । सरकारले हालको अवस्थालाई मध्यनजर गर्दै शान्ति सुरक्षालाई थप कडा बनाउने निर्णय गरेको छ ।








