६ असार २०८२, शुक्रबार

अराजकता र हिंसाविरुद्ध नागरिक समाजको धर्ना, लोकतन्त्र सुदृढ बनाउन आग्रह

प्रकाशित मिति :  30 March, 2025 10:26 am


काठमाडौँ । अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले आइतबार बिहान काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिएको छ ।

लोकतन्त्र, मानव अधिकार, र शान्तिको पक्षमा अभिमत प्रकट गर्दै उनीहरूले गणतन्त्रको रक्षा तथा अराजक गतिविधिहरूको नियन्त्रणका लागि सरकारलाई दबाब दिएका हुन् ।

धर्ना कार्यक्रममा सहभागीहरूले “गणतन्त्रको जग सबल बनाऔँ”, “अराजकतालाई नियन्त्रण गर”, “आर्थिक अनियमितता र कालोबजारी रोक”, “समानता, न्याय र समावेशिता सुनिश्चित गर”, “लोकतन्त्रको रक्षा गर”, “नागरिक अधिकारको संरक्षण गर”, “निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर”, “मिडियामाथिको हमला बन्द गर”, “प्रेस स्वतन्त्रता कायम गर”, “जनताको सुरक्षामा कुनै सम्झौता नगर” जस्ता नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

धर्ना कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा वृहत नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै नेपाली जनतालाई लोकतन्त्रको पक्षमा उभिन आह्वान गरे । पछिल्ला घटनाहरूलाई ‘लोकतन्त्रमा लागेको घुनपुतली’ को संज्ञा दिँदै उनले यस्ता अराजक गतिविधिहरूलाई निमिट्यान्न पार्न आवश्यक रहेको बताए ।

“लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो,” भन्दै उनले देशभर लोकतन्त्रलाई बलियो बनाउन नागरिकहरूलाई सचेत हुन आग्रह गरे । साथै, हालका घटनाक्रमलाई गम्भीर रूपमा लिँदै जनताको निराशा चिर्न सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन पनि उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !